मकवानपुर ।आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–१ बाट उम्मेदवार बनेका तेजप्रसाद उप्रेती (रमेश) ले मतदातासँग प्रत्यक्ष संवाद र राय संकलनका लागि क्यूआर कोड सार्वजनिक गरेका छन्।जर्नादन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकले उठाउन चाहेका मुद्दा, प्राथमिकता तथा सुझावहरू प्रत्यक्ष रूपमा संकलन गर्ने उद्देश्यले क्यूआर कोड सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।“उन्नत विकास सहितको विकल्प”भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका उप्रेतीले मतदाताबाट प्राप्त राय, सुझाव र सन्देशलाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्यदिशाको आधार बनाइने बताएका छन्। क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि नागरिकले सजिलै आफ्ना विचार, अपेक्षा र प्रतिक्रियाहरू लेखेर पठाउन सक्ने व्यवस्था गरिएको छ।
उप्रेतीले मतदाताबाट प्राप्त प्रत्येक सुझावलाई शिरोपर गर्दै जनतामाझ पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरमा सामाजिक व्यक्तित्वका रूपमा परिचित उप्रेती लामो समयदेखि वैकल्पिक राजनीतिक धारमा सक्रिय रहँदै आएका युवा नेता हुन्।यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालसँग आबद्ध उप्रेती बाबुराम भट्टराई र जर्नादन शर्माबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मकवानपुर–१ मा उम्मेदवार बनेका हुन्।मकवानपुरको राजनीतिक वृत्तमा उप्रेतीलाई विश्वव्यापी अनुभव बोकेको शिक्षित र उद्यमशील युवा उम्मेदवार का रूपमा हेरिएको छ।
दक्षिण कोरियामा लामो समय काम गरेको अनुभव, जेसिजको राष्ट्रिय नेतृत्व सम्हालेको पृष्ठभूमि तथा सामाजिक रूपमा सक्रिय व्यक्तित्वका कारण उनी फरक सोच र दृष्टिकोणसहितको उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन्।
परम्परागत राजनीतिभन्दा माथि उठेर विचारशील, जवाफदेही र विकल्पसहितको राजनीति प्रस्तुत गर्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको उप्रेतीको भनाइ छ।राजनीतिक यात्रामा उप्रेती वैकल्पिक राजनीतिक धारबाट उदाएका नेता हुन्।
उनी नयाँ शक्ति पार्टी नेपाल (२०७३) का संस्थापक सदस्य हुनुका साथै समाजवादी पार्टीको जिल्ला संयोजकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।
कृषिमा आधुनिकिकरण,औद्योगिक र पर्यटकीय विकास साथै रोजगारी सिर्जना गर्ने जनतामा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूती गराउन जेन्जी आन्दोलनको मर्मलाई आत्मसात गर्ने उप्रेतीले आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
QR code






